संक्षिप्त परिचय

11 Oct 2018

संक्षिप्त परिचय

जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानको संक्षिप्त परिचय
समयको आवश्यकता र जनचाहना अनुसार सरोकारवाला पक्षहरुको सक्रिय सहयोगबाट कुनै पनि संस्थाको जन्म भौतिक रुपमा देखा पर्दछ । यसै अनुरुप यस क्षेत्रका विद्यार्थीहरुको स्थानीय स्तरमा सहुलियतपूर्ण र गुणस्तरयुक्त उच्च शिक्षा प्रदान गर्ने पवित्र उद्देश्य र आकांक्षाबाट अभिप्रेरित भई स्थानीय राजनीतिज्ञ, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, व्यापारी, उद्योगपति, किसान तथा सर्वसाधारण जनताको एकताबद्ध प्रयास र सक्रिय सहयोगमा मिति २०४४ जेष्ठ २३ गते तत्कालीन लहान नगर पंचायतका प्रधानपंञ्च श्री लगन लाल चौधरीज्यूको अध्यक्षतामा यस भेगका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु सहितको ५७ सदस्यीय क्याम्पस स्थापनार्थ मूल समितिको गठन गरियो । जसले त्रिभूवन विश्वविद्यालयसंग क्याम्पस स्वीकृतिका लागि श्री लगन लाल चौधरीज्यूको अध्यक्षतामा नै ९ सदस्यीय तदर्थ समितिको गठन गरे अनुरुप उक्त समिति र त्रि.वि. बिचको सम्झौता भए अनुसार लहान नगर पंचायतद्धारा स्वीकृतीका लागि आवश्यक रु. ४ लाख मुद्दतीमा जम्मा गरे पश्चात २०४४ श्रावण २२ गते लहान क्याम्पसको नामबाट विधिवत रुपमा स्वीकृती प्राप्त गरी मिति २०४४ असोज २२ गते श्री पशुपति मा.वि. लहानको भवनमा प्रभातकालीन (विहानी) समयमा कक्षा संचालनसंगै यस क्याम्पसको जन्म भयो ।
क्याम्पस प्रमुख श्री कामेश्वर चौधरीको कुशल प्रशासकीय नेतृत्वमा मानविकी संकाय तर्फ प्रवीणता प्रमाण पत्र तहका २२५ विद्यार्थी, १० जना प्राध्यापक, २ जना कर्मचारी, १ पियनबाट उच्च् शिक्षाको यात्रा शुभारम्भ गरेको यस क्याम्पसले सिमित स्रोत साधन, भौतिक कठिनाई, आर्थिक अभाव जस्ता आरोह अवरोहरुलाई पार गर्दै यस भेगका अधिकांश मध्यम तथा निम्न वर्गीय परिवारका बालबालिकाहरुलाई न्यून शुल्कमा आफ्नो स्थान र परिवेश भित्र उच्च शिक्षाले आलोकित हुने अवसर प्रदान गर्दै लहान नगरीको अन्य चिनारी भित्र आफूलाई पनि परिचित गराउन सफल भयो ।
पशुपति मा.वि. को भवनमा संचालन हुर्दै आएको यस लहान क्याम्पसलाई आफैमा भौतिक रुपले सवल हुन आवश्यक बन्दै गएको सन्र्दभमा तत्कालीन प्रधानपंच श्री लगन लाल चौधरीको सक्रियतामा लहान नगर पंचायतद्धारा क्याम्पसको नाममा १२–०१–१६ जग्गा एउटै परिसर भित्र खरिद गरियो । तर जग्गा संगै भौतिक पूर्वाधार आवश्यक भएको हुँदा यहाँका राजनीतिक, साहुमहाजन, बुद्धिजिवीहरुको सल्लाह तथा संचालक समितिको सम्झदारी एवम् सगरमाथा अञ्चलाधिस श्री सूर्य बाहादुर सेनओलीको विशेष आग्रहमा लहान नगरका समाजसेवी, शिक्षा प्रेमी, गो.द.वा. प्रथम श्रेणीले विभूषित लब्ध प्रतिष्ठित उद्योगपति श्री परमेश्वर मुरारका तथा उहाँका अनुज श्री आत्माराम मुरारकाद्धारा आफ्ना पिता स्व. ज्वाला प्रसाद मुरारका र माता स्व. स्योवाई देवी मुरारकाको चिरस्मरणमा नामाकरण गर्ने गरी करीव ६० लाखको लागतमा २२ कोठे दुईतल्ले पक्की भवन एवम् सरस्वती मंदिर तथा रु. ५ लाखको अक्षयकोष स्थापना संगै भवनको निर्माण कार्य पूरा भयो । विक्रम सम्बत २०४९ माघ १२ गते देखि यो क्याम्पस पशुपति मा. वि. को भवनबाट आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भई पठन पाठन प्रारम्भ गर्दै २०५० फाल्गुण ३ गते यस क्याम्पसको नाम लहान क्याम्पस लहानबाट ज्वाला प्रसाद स्वयोवाई देवी मुरारका बहुमुखी क्याम्पस (जे.एस.मुरारका बहुमुखी क्याम्पस) लहानमा परिणत हुन पुग्यो र विक्रम सम्बत २०५२ मंसिर २९ गते तत्कालीन युवराज दिपेन्द्र विरविक्रम शाहदेवबाट यस नवनिर्मित क्याम्पस भवनको समुद्धाटन सु सम्पन भयो ।
समयको माग र आवश्यकतालाई महसुस गर्दै यस क्याम्पसले सिमित संकाय र उच्च शिक्षाको क्षेत्रलाई विस्तार गर्दै लैजाने क्रममा २०४७ सालमा त्रि.वि. संग मानविकी स्नातक तहको कक्षाहरु पनि संचालन गर्ने स्वीकृति प्राप्त ग¥यो भने, २०५० मा उ.मा.शि. परिषदबाट (१०+२) व्यवस्थापन (आई.कम) तथा २०५१ मा शिक्षा तर्फको कार्यक्रम संचालन ग¥यो । यसरी आफ्ना वरपर भएका अन्य उच्च मा.वि.हरुबाट +२ उतीर्ण गरी आर्थिक कठिनाई र समाजिक परिवेशका कारण स्नातक तह शिक्षाको लागि वाहिर जन नसकेका विद्यार्थीहरुको आवश्यता र चाहनालाई परिपूर्ति गर्ने हेतुले २०५४ सालमा स्नातह तह शिक्षा (वि.एड.) कक्षा संचालन गरेपश्चात यहाँका विशेषत चेलीबेटीहरु बढी लाभान्वित भएका छन् । यसले यहाँको समाजमा छोरी बुहारीलाई पनि शिक्षित गराउनु पर्दछ भन्ने चेतना विस्तारित भएको देखिन्छ । आफ्नो शैक्षिक कार्यक्रमको विस्तार यतिमा नै सिमित नराखी स्थानीय युवा विद्यार्थीहरुको आवश्यकतालाई पूरा गर्न २०५९ मा एक वर्षे वि.एड., २०६३ मा वि.वि.एस. र २०६७ मा स्नातकोत्तर शिक्षा अंग्रेजी (एम.एड.) सम्मको पठन पाठन कार्य संचालन भए पश्चात यस क्याम्पसले आफ्नो स्थापनाकालको परिकल्पनालाई प्राप्त गर्ने अवसर पनि पाएका छन् । अझ विज्ञान प्रविधिको युगलाई यस क्याम्पसले पनि मनन गर्दै २०६८ साल देखि विज्ञान संकाय अन्तर्गत +२ तथा स्नातक तहका (वि.एस्सी.) कार्यक्रमहरु प्नि संचालन गरेको छ । त्यसै गरी जनचाहना र क्याम्पसको आवश्यकता अनुरुप २०७० मा स्नातकोत्तर तह मानविकी तर्फ समाजशास्त्र तथा व्यवस्थापन तर्फ एम.वि.एस.का कार्यक्रम संचालन गरी आफ्नो सेवा विस्तार गरेको देखिन्छ । यसरी उच्च शिक्षा प्रदान गर्ने लक्ष्य राखे अनुरुप यस भेगका विद्यार्थीलाई एकै थलोबाट +२ देखि स्नातकोत्तर तह सम्म न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा यो क्याम्पस गौरवान्वित छ ।